घरबारी बेचेर क्यान्सर उपचार



काठमाडौं, चैत ९ । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो । अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।

यसैगरी बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै चार गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको थियो । प्रत्यक्ष मेडिकल खर्चअन्तर्गत सबैभन्दा बढी खर्च केमोथेरापीमा हुने गरेको पाइएको थियो । केमोथेरापीमा २८ प्रतिशत खर्च रहेको छ ।

अनुसन्धानअनुसार एक जना क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा नौ लाख ८१ हजार ३७० रुपैयाँ खर्चने गरेका छन् । अध्ययनअनुसार नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये ४३ प्रतिशत बिरामीले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन् । घरायसी बचतबाट उपचार गर्ने २७.२, व्यापार गरेर क्यान्सर उपचार गर्ने २२.३, दैनिक ज्याला मजदुरीबाट क्यान्सर उपचार गर्ने ११.७, सरकारी सेवामा कार्यरत ८.७ र वैदेशिक रोजगारीमा सहभागी ८.७ प्रतिशतले क्यान्सर रोगको उपचार गरिरहेका छन् । ६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको खुलेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्