प्याकेट नुनमा २५ रुपैयाँ असुलिँदै



काठमाडौं,चैत १० । साल्ट ट्रेडिङ कर्पोरेशनले प्रतिकिलो (एक प्याकेट) १८ रुपैयाँ ५० पैसामा विक्री गर्दै आएको आयोडिनयुक्त नुन व्यापारीले बजारमा मनपरी मूल्य राखेर विक्री गरिरहेको पाइएको छ । २० रुपैयाँभन्दा बढीमा बेच्न नपाइने नुनमा व्यापारीले उपभोक्तासँग प्रतिकिलो ५ रुपैयाँसम्म ठगिरहेका छन् । साल्ट ट्रेडिङले भारतबाट ल्याएको नुन डिलरलाई प्रतिकेजी १८ रुपैयाँ ५० पैसा प्रतिप्याकेटमा विक्री गर्छ । डिलरले खुद्रा व्यापारीलाई १९ रुपैयाँसम्ममा बेच्छन् । सरकारी प्रावधानअनुसार खुद्रा व्यापारीबाट उपभोक्ताले २० रुपैयाँ किलोमा नुन किन्न पाउनुपर्ने हो । तर, बजारमा पसलपिच्छे नुनको फरक मूल्य छ । व्यापारीले २२ देखि २५ रुपैयाँसम्म मूल्य राखेर बेच्ने गरेका छन् ।

साल्ट ट्रेडिङले हाल तीनओटा ब्रान्डमा आयोडिनयुक्त नुन विक्री गरिरहेको छ । उसले हिमाली र पहाडी २२ जिल्लामा ढुवानीमा अनुदान दिएर भानु ब्रान्डको नुन प्रतिकेजी ९ रुपैयाँमा विक्री गर्छ । तीबाहेक अन्य जिल्लामा आयो नुन प्रतिकेजी २० रुपैयाँ र शक्ति ब्रान्डको नुन तराईका जिल्लामा प्रतिकेजी १७ रुपैयाँमा विक्री गरिरहेको छ ।

काठमाडौं उपत्यकाका अधिकांश स्थानमा २५ रुपैयाँभन्दा कम मूल्यमा नुन किन्न नपाएको गुनासो उपभोक्ताको छ । कालीमाटीको खाद्यान्न बजारमा किनमेल गर्न आएकी रीता न्यौपानेले सधैंजसो आफूले २५ रुपैयाँ किलोमा नुन किन्ने गरेको सुनाइन् । बबरमहल क्षेत्रका खुद्रा पसलमा बुझ्दा अधिकांशले २५ रुपैयाँ केजीमा विक्री गरेको पाइएको छ । अनौठो कुरो, नुनको प्याकेटमै अधिकतम खुद्रा मूल्य २० रुपैयाँ उल्लेख गरिएको छ ।

खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले ढुवानी भाडासमेत जोड्दा एक केजी नुनको मूल्य २० रुपैयाँसम्म पर्ने भएकाले केही व्यापारीले २२ रुपैयाँसम्ममा बेच्ने गरेको बताए । ‘सरकारले अनुदान दिएको वस्तुमा व्यापारीले नाफा खाएर बेच्नु गलत हो तर व्यापारी पनि बाध्य छन् । ढुवानी भाडा र श्रमिक खर्च निकै बढेको छ । २० रुपैयाँ त हाम्रै मूल्य पर्न आउँछ । २२ रुपैयाँसम्म ठीकै हो । २५ रुपैयाँ लिनुचाहिँ गलत हो,’ उनले भने ।

कण्ठरोग नियन्त्रण गर्ने अभियानका लागि आयोडिनयुक्त नुन वितरण सहज बनाउन तथा नुनको अभाव र कालोबजारी रोक्न २०२० सालमा साल्ट ट्रेडिङ कर्पोरेशन स्थापना भएको थियो । कर्पोरेशनले शुरूमा भारत सरकारबाट नुन ढुवानीमा अनुदान पाए पनि सन् १९९८ देखि उक्त अनुदान कटौती भएको छ ।

कर्पोरेशनका उप–महाप्रबन्धक तथा प्रवक्ता कुमार राजभण्डारीले कुनै पनि व्यापारीले २० रुपैयाँभन्दा बढी मूल्य राखेर नुन विक्री गर्न नपाउने बताए । उनका अनुसार त्यसभन्दा बढी मूल्य लिएको पाइए त्यस्ता पसल र व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । हरेक वर्गका मानिसका लागि अत्यावश्यक वस्तु नुनमा कालोबजारी गर्नु वा उपभोक्ता ठग्न खोज्नु गलत हो भन्दै उनले यस्तो कार्य नगर्न अनुरोधसमेत गरे ।

साल्ट ट्रेडिङले हरेक वर्ष दुर्गम क्षेत्रमा ढुवानी अनुदानका रूपमा सरकारबाट करीब १७ करोड रुपैयाँ पाउने गरेको छ । मुलुकमा वार्षिक करीब २ लाख मेट्रिक टन नुन खपत हुने गरेको साल्ट ट्रेडिङले जानकारी दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्