रसुवामा कित्ताकाट खुलाउन पालिकाले थाले पहल, पाँचमध्ये एकले थाल्यो कार्यान्वयनको तयारी



रसुवा,चैत १३ । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल थालेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ ।
 
आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव सङ्कलन सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए । भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए । कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू–उपयोग नीतिले औंल्याएको छ । 

असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण रू‍‍‍. ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ । कित्ताको रजिष्ट्रेशन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशन रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए । 

नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत सङ्कलन शुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए । 

प्रतिक्रिया दिनुहोस्