परराष्ट्रमा कांग्रेसका एनपी साउद, भौतिक पूर्वाधार राज्यमन्त्रीमा एकीकृतकी नन्दा चपाईं



काठमाडौं,वैशाख ४ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै उनले सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । कांग्रेस नेता साउँद विसं २०५६ र २०७० र २०७९ मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) सँग जोडिएर राजनीतिमा होमिएका उनी विसं २०४३ मा नेविसङ्घको उपसभापति हुँदै २०४८ सालमा सभापति भएका थिए ।

साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् । मन्त्रालयमा आज पदभार सम्हाल्दै भने, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै भौतिक पूर्वाधार राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीकी नन्दा चपाई नियुक्त भएकी छन् । एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् । राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्