डेढ महीनायता नेपाली क्रिकेट खेलाडीलाई पुरस्कारको ओइरो, एक खेलाडीले १२ लाखसम्म पाउने !



काठमाडौं,बैशाख २१ । गत चैत २ (मार्च १६) मा यूएईविरुद्ध सनसनी जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट भएपछि खेलाडीहरूलाई पुरस्कार घोषणाको ओइरो नै लाग्यो । क्रिकेट खेलाडीहरूलाई संघ सरकारदेखि प्रदेश सरकारहरूले पुरस्कारको घोषणा गरे । 

क्वालिफायरमा छानिएको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो । यस्तै, बागमती प्रदेश सरकारले खेलाडीहरूलाई एक–एक लाख रुपैयाँ पुरस्कार दिने बतायो । सुदूरपश्चिम र मधेश प्रदेश सरकारले भने आफ्नो प्रदेशबाट राष्ट्रिय टोलीमा परेका खेलाडीलाई दुई–दुई लाख र लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्नेलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरे । 

सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी र भीम सार्की तथा मधेश प्रदेश सरकारले आरिफ शेख र गुल्सन झालाई पुरस्कार दिने घोषणा गरेको हो । लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, सोमपाल कामी र प्रतिश जिसीलाई पुरस्कार दिने निर्णय गर्याे । 

गण्डकी प्रदेश सरकारले भने प्रदेशबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने करन केसीलाई ५० हजार रुपैयाँ पुरस्कार दियो । 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा डकवर्थ लुइस नियमका आधारमा नेपालले यूएईलाई ९ रनले हराएर विश्वकप क्रिकेट क्वालिफायरमा छानिएको थियो । यो नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि थियो । 

त्यसको डेढ महीनापछि उही मैदानमा उही प्रतिस्पर्धीलाई हराएर अर्काे ऐतिहासिक उपलब्धि हात नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय नेपाली क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गत मंगलवार कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छानिएको छ । 

पछिल्लो डेढ महिनायता नेपाली क्रिकेट खेलाडीलाई घोषणा भएका पुरस्कारमध्ये सुदूरपश्चिम र मधेश प्रदेशका खेलाडीले सबैभन्दा बढी जनही १२ लाख रूपैयाँसम्म पाउने भएका छन् । यस्तै लुम्बिनी प्रदेशका खेलाडीले जनही ११ लाख र गण्डकीका करन केसीले १० लाख ५० हजार रुपैयाँ पुरस्कार थाप्नेछन् । जसमध्ये करन केसीले ५० हजार पुरस्कार पाइसकेका छन् । अन्य प्रदेशका खेलाडीले भने १०-१० लाख पुरस्कार हात पार्नेछन् । 

प्रतिक्रिया दिनुहोस्