संकटामाथि मच्छिन्द्रको जित



काठमाडौं,बैशाख २१। साविक विजेता मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटा लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो ।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले एक एक गोल गरे भने संकटाका जुनियर एनकेनगुएले एक गोल फर्काए ।

अविरल वर्षासँगै हिलाम्मे मैदानमा भएको प्रतिष्पर्धामा मच्छिन्द्रले चौथो मिनेटमा दवबेन्द्र तामाङको गोलबाट अग्रता लिएको थियो । देवेन्द्रले युटा सुजुकीको कर्नरमा पुजन उपरकोटीले प्रहार गरेको बल संकटाका गोलकिपर टिकेन्द्र थापालले बचाउने प्रयास गर्दा रिबाउन्ड भएको बललाई पोस्टको दिशा दिएका थिए ।

त्यसपछि पहिलो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन् । ६९औं मिनेटमा ओलावालेले मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । ओलावालेले शौरव लिम्बूको क्रसलाई गोलमा परिणत गरेका थिए । ७८औं मिनेटमा संकटाका जुनियरले गोल गर्दा खेल २–१ को स्थितीमा पुगेको थियो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित निश्चित गराए । यससँगै मच्छिन्द्रले संकाटविरुद्ध दुवै खेलमा जित निकाल्न सफल भएको हो । पहिलो लेगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो । यस जितसँगै मच्छिन्द्र १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजासहित २१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको संकटा समान खेलबाट ४ जित, ४ बराबरी र ६ हारको नजितासहित १६ अंकका साथ ११औं झरेको छ ।

लिग अन्तर्गत बिहीबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको अन्त्यतिर १० खेलाडीमा सिमित भएको एनआरटीविरुद्ध एपिएफले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएको थियो ।

एन्फा मुख्यालयको मैदानमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक देखिएको एनआरटीले ५८औं मिनेटमा अग्रता निकालेको थियो । एनआरटीका लालनुनजामाले गोल गर्दै एनआरटीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एपिएफका डिफेन्डर एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई हारबाट जोगाए ।

प्रतिक्रिया दिनुहोस्