खेलाडीलाई पुरस्कार घोषणा गर्न हतार, दिन भने आनाकानी



काठमाडौं,बैशाख २२ । गत चैत २ (मार्च १६) मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट भएपछि भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले पुरुष राष्ट्रिय टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो । घोषणाको डेढ महीना बित्यो, खेलाडीले उक्त पुरस्कार पाएका छैनन् । 

त्यो मात्रै होइन, प्रदेश सरकारहरूले घोषणा गरेका पुरस्कारसमेत नपाएको खेलाडीले बताउने गरेका छन् । त्यतिबेला बागमती, सुदूरपश्चिम, मधेश, लुम्बिनी र गण्डकी प्रदेश सरकारले खेलाडीहरूलाई पुरस्कार दिने घोषणा गरेका थिए । तीमध्ये बागमतीले राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई १–१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । अन्य प्रदेशले भने आआफ्नो नो प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई मात्रै पुरस्कार दिने घोषणा गरेका थिए । 

यी पुरस्कार नपाएका क्रिकेट खेलाडीलाई बुधवार अर्काे पुरस्कार दिने घोषणा गरियो । मन्त्रिपरिषद् बैठकले एशिया कपमा छनोट हुने नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मंगलवार सम्पन्न एसीसी मेन्स प्रिमियर कपमा नेपालले यूएईलाई हराउँदै उपाधि जितेको थियो । 

डेढ महीनाअघि घोषित पुरस्कार नपाएका खेलाडीले यो पुरस्कार कहिले पाउने हो, टुंगो छैन ।  घोषणा गरिएको पुरस्कार दिन ढिलाइ गर्न नहुने सरोकारवाला बताउँछन् । पुरस्कारले खेलाडीलाई हौसला र उत्प्रेरणा दिने भएकाले त्यो जतिसक्दो चाँडो दिनुपर्ने उनीहरूको मत छ । 

क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठक खेलाडीलाई घोषणा गरिएको पुरस्कार दिन ढिला गर्दा खेलाडी र क्यानबीच दूरी बढ्ने सम्भावना देखिएको बताउँछन् । खेलाडीले आपूmसँग पुरस्कार कहिले पाइन्छ भनेर सोध्ने गरेको उनले सुनाए । 

खेलाडीलाई घोषणा गरिएको पुरस्कार दिलाउन आपूmहरूले पहल गरिरहेको उनी बताउँछन् । ‘प्रधानमन्त्रीज्यू सहभागी हुनुभएको राष्ट्रिय खेलकुद परिषद्को नीति तथा कार्यक्रममा पुरस्कारबारे कुरा उठाएको थिएँ,’ उनले सुनाए । 

खेलाडीलाई पुरस्कार दिलाउन आपूmहरू युवा तथा खेलकुद मन्त्रालयसमेत पुगेको उनले बताए । ‘मन्त्रालयका कर्मचारीले प्रक्रियाअनुसार दिन्छौं भन्नुभएको छ,’ उनले भने । 

तर, खेलाडीहरूलाई पुरस्कार दिन बनाइएको ‘खेलकुद सम्मान तथा पुरस्कार कार्यविधि–२०७२’ को प्रावधान झन्झटिलो रहेको उनको भनाइ छ । खेलाडीले पुरस्कार पाउन ढिलाइ हुनुमा यो पनि एक कारण रहेको उनी बताउँछन् । 

नेपाली क्रिकेट खेलाडीले ३ महीनाअघि जितेको त्रिदेशीय क्रिकेट शृंखलाको पुरस्कार पनि नपाएको उनको भनाइ छ । कार्यविधिमा तीन देश वा तीभन्दा बढी देश सम्मिलित प्रतियोगिता जित्ने टोलीलाई पुरस्कृत गर्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्