भव्यरुपमा मनाइयो बुद्धजयन्ती, देशभरका बौद्ध तीर्थस्थलमा दिनभर दर्शनार्थीको घुइँचो



काठमाडौं,बैशाख २२ । विभिन्न कार्यक्रम गरी आज भव्यरुपमा बुद्धजयन्ती मनाइएको छ। चिटिक्क बनाएर आकर्षक रुपमा सिँगारिएको बुद्धजन्मस्थल लुम्बिनीेमा २५ सय ६७ औं बुद्धजयन्ती मनाउन स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका समेत आएका छन् ।

आज बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लागि प्रार्थना गरिएको थियो।मन्दिरबाट सभासम्म करिब २ किमी शोभायात्रा निकालिएको थियो। बुद्धजयन्तीका दिन वैशाख पूर्णिमामा आज लुम्बिनीमा निकै भीडभाड बढेको थियो।स्वदेशी र विदेशी पर्यटकले आज लुम्बिनी भरिभराउ छ। बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि थिए ।

प्रधानमन्त्री प्रचण्डले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता धेरै रहेको बताएका छन् । बुद्ध जयन्ती तथा लुम्विनी दिवस २०८० समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले वुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको पनि बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताए । उनले वुद्धको महत्ववारे विश्वलाई चिनाउन अझै बाँकी रहेको बताए ।

लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उनले विकृति हटाउने पनि बताए । साथै मन्त्री किरातीले उनले लुम्विीनी गुरुयोजनाकै आधारमा लुम्विनीको विकास अगाडि अगाडि बढिरहेको उनले जानकारी दिए ।यस्तै,आज बुद्ध जयन्तीका अवसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको थियो।

प्रतिक्रिया दिनुहोस्