गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्



लुम्बिनी,जेठ २  । काठमाडौं (Kathmandu)पछिको पहिलो अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल (Gautam Buddha International Airport)लाई नै लक्षित गरेर निजी क्षेत्रले रू. ६० अर्बभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान विक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौंको लगानी भएको उनी बताउँछन् । 

‘विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप हुने हाम्रो आकलन थियो । यसको ठूलो आशाले यो क्षेत्र व्यावसायिक हव बनिसकेको पनि छ,’ शर्माले भने, ‘तर पनि अहिले हामीले सोचेजस्तो गरी विमानस्थल सञ्चालनमा आउन सकेन, यसले त हामीलाई निराशा मात्र दिएको छ । यतिका धेरै लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दो छ, तर हामी उद्योगी व्यवसायीसँग अरु कुनै विकल्प नै छैन ।’

निजी क्षेत्र तथा यहाँका नागरिकको विमानस्थलप्रतिको आशा र बनेको खुसी वर्ष दिन पनि टिकेन । आज विमानस्थल सञ्चालनमा आएको वर्ष दिन पुगेको छ । तर, देशको अर्थतन्त्रको कम्तीमा पनि ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रकै तर्फबाट यस्ता निराशा व्यक्त गर्नुपर्ने अवस्था आएको छ । विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । यहाँ जहाज उडेका छैनन् । अक्कलझुक्कल विमान उडाएको अल जाजिराले पनि अहिले उडान रोक्ने सन्देश दिइरहेको छ ।

ऋणमा बनेको विमानस्थल सञ्चालनमा सरकारले पैरवी नगरेको गुनासो शर्माले गरे । विमानस्थलमा निर्माणका लागि लगानी गरेको एडीबीले सम्भाव्यता अध्ययन नगरी लगानी गरेको होला भन्ने कल्पना त गर्न सकिँदैन । तर, किन लगानीअनुसार यो विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सकिएको छैन भन्ने कुरा बडो अन्योलपूर्ण रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘एयररुटको कुरा, भारतीय अवरोधका कुरा सबै मिथ्या हल्ला मात्र हुन्, यस विषयमा बुझेर मात्र एडीबीले लगानी गरेको भन्नेमा हामी पूर्णरूपमा विस्वस्त छौं,’ शर्माले भने, ‘नेपाल सरकारले यसमा अग्रणी भूमिका निर्वाह गरेर यो समस्यालाई साम्य गर्नुपर्छ, विमानस्थल सञ्चालन गर्नुबाहेकको अर्को विकल्प छैन, हामीले सरकारसँग गर्ने माग पनि यही हो ।’

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा उनले भारतसँग दह्रोरूपमा कुरा उठाउन र यसलाई सञ्चालनमा ल्याउन ठोस पहल चाल्न सुझाव दिए । उनले भने, ‘मेरो यो सुझाव छ कि प्रधानमन्त्रीज्यूले आफ्नो भारत भ्रमण नै यही विमानस्थलबाट गर्नुहोस् र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने अभियान थाल्नुहोस् ।’

अर्बौंको लगानी जोखिममा

विमानस्थल निर्माणसँगै भैरहवा तथा यस आसपासका क्षेत्रमा तारे होटल खुल्ने क्रम बढ्यो । विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना–ठूला गरी १४६ ओटा होटल सञ्चालनमा छन् । यिनीहरूमा करिब रू‍ ३० अर्ब लगानी भएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । यसबाहेक रू. २० अर्ब बढीका २१ ओटा होटल अहिले पनि निर्माणाधीन रहेको उनको भनाइ छ । ‘विमानस्थललाई नै लक्षित गरी गरिएका अर्बौंको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको छ,’ श्रेष्ठले भने, ‘व्यवसायीहरूमा बैंकको ब्याज तिर्न नसकेर तनाव बढ्दै गएको छ, कतिपय त पलायन हुने अवस्था आएको छ ।’

उनले विमानस्थल सञ्चालनका लागि क्षेत्रीयस्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो गरे । ‘सबै ठीक छ, विमानस्थल पनि तयार छ, विदेशी विमानभन्दा पनि आफ्नै देशका विमानले पत्याउनुप¥यो,’ उनले भने ।

उनले पूर्वी एसियामा रहेका बौद्ध देशहरूबाट पर्यटक ल्याउने गरी सरकारले पहल गर्न आवश्यक रहेको औँल्याए । ‘हामीले पटक–पटक सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरण, नेपाल सरकारसँग यी सब कुरा उठाएका हुन्छौं,’ उनले भने, ‘तर, के–कति कारणले सञ्चालनमा आउन सकेको छैन, हामीले बुझेका छैनौं ।’

भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई मार्गबाट यहाँ आउने पर्यटकका लागि केन्द्रमा राखेर बुटवलमा अर्बौंको लगानीमा दुईओटा केवलकार निर्माणाधीन अवस्थामा छन् । बुटवलबाट पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुर पुग्ने केवलकार अब सञ्चालनको अन्तिम तयारीमा छ । कम्पनीले रू. तीन अर्ब ५२ करोड लागत अनुमान गरिएको केवलकार तीन किलोमिटर लम्बाइको हुनेछ । केबलकारको बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेशन छ ।

करिब तीन किलोमिटर लामो केवलकारपछि पुगिने वसन्तपुर डाँडामा पर्यटकलाई आकर्षित गर्न होटल, मनोरञ्जन पार्क तथा कामाख्यादेवीको मन्दिरसहितका संरचना निर्माण भइरहेका छन् । वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहने भएको छ ।

त्यस्तै सिद्धार्थ केवलकार प्रालिले बुटवलको मणि मुकुन्दसेन उद्यान फूलबारीबाट उत्तर–पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन गर्ने गरी निर्माणाधीन केवलकार पनि अन्तिम चरणमा पुगेको छ । केवलकारको लम्बाइ दुई किमी ९० मिटर रहने छ । करिब रू. डेढ अर्बको लागतमा बन्न लागेको केवलकारमा ४० जनाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्