बन्यो नुवाकोट पञ्चकन्या गाउँपालिकाको सिंहदरबार, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने 



नुवाकोट,जेठ ११ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लाकुरी भञ्ज्याङ् मा निर्माणाधीन भवन हालै सम्पन्न भएको हो । सूर्यचन्द्र कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको सो भवनको उद्घाटन यही जेठ २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तयारी गरिएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

निर्माणको ठेक्का पाएको सुर्यचन्द्र कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक जनार्दन ढकालले कुल ६ करोड ४९ लाख रुपैयाँ रकममा भवन निर्माण सम्पन्न भएको बताए । कन्स्ट्रक्सनका अनुसार १ सभाहल,१ इजलास कक्षसहित २७ कोठाको भवन तयार भएको हो । सुविधा सम्पन्न भवनमा चमेना गृह, सुरक्षा कक्ष, सार्वजनिक सौचालय, सवारीसाधन पार्किङ स्थल रहेका छन् ।

भवनका इन्जिनियर उज्ज्वल न्यौपानेका अनुसार भवनको भित्री स्वरुपमा सोधपुछ कक्ष, व्यवस्थित न्यायीक कक्षसहित विभिन्न सेवाग्राही उन्मुख कक्ष तयार गरिएका छन् । इन्जिनियर न्यौपानेका अनुसार ५२ सय ३९ स्क्वायर क्षेत्रफल ओगटेको भवन निर्माणको ठेक्का २०७७ साल पुस २० गते सम्झौता भएको थियोे । भवन निर्माणसंगै गाउँपालिकाको प्रशासनिक कामकाज अब लाकुरी भञ्ज्याङ्बाट हुनेछ ।पञ्चकन्या ३ घलेभञ्ज्याङको अस्थायी भवन छाडी अब सुविधा सम्पन्न भवनबाट कामकाज थालनी गरिनेछ ।

उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

नवनिर्मित भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तयारी भएको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङसंग निकट सम्बन्ध रहेका हालका प्रधानमन्त्री प्रचण्ड आउने निश्चित भैसकेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा जिल्ला स्तरका स्थानीयदेखि संघीय नेताकार्यकर्तालाई कार्यक्रमको निम्तो पठाइएको अध्यक्ष तामाङले बताए ।

हक्की स्वभावका अध्यक्ष तामाङले आफ्नो अघिल्लो कार्य अवधिमै नयाँ भवनबाट जनताको सेवा गर्ने लक्ष्य राखेका थिए । यद्यपि विविध कारणवस जनताले दिएको थप अवधिको सुरुवातमा नयाँ भवनबाट कामकाज गर्न पाँउदा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्