आर्थिक सर्वेक्षण २०७९/८० : जलविद्युत्बाहेकका उद्योगको अवस्था निराशाजनक 



काठमाडौं,जेठ १५ । आर्थिक सर्वेक्षणले जलविद्युत्बाहेकका सबै उद्योगको प्रदर्शन विगतको तुलना निराशाजनक रहेको देखाएको छ ।

चालू आर्थिक वर्ष (आव) मा खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर १ दशमलव १ प्रतिशत रहने अनुमान छ । गत आवमा यो वृद्धिदर ८ दशमलव ८ प्रतिशत थियो । यसरी खानी तथा उत्खनन क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान शून्य दशमलव ५१ प्रतिशत रहनेछ । 

यस्तै उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिको वृद्धिदर २ प्रतिशत ऋणात्मक रहने अनुमान छ । गत आवमा यो वृद्धिदर ६ दशमलव ७ प्रतिशत थियो । यसरी उत्पादनमूलक उद्योगको कुल गार्हस्थ्य उत्पादनमा योगदान ५ दशमलव ३ प्रतिशत रहनेछ । निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर २ दशमलव ६ प्रतिशत ऋणात्मक रहने अनुमान छ । गत आवमा यो वृद्धिदर ७ प्रतिशत रहेको थियो । यसरी निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान ५ दशमलव ५ प्रतिशत रहनेछ ।

पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापको कुल मूल्य अभिवृद्धिको वृद्धिदर २ दशमलव २ प्रतिशत रहने अनुमान छ । यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान शून्य दशमलव ४६ प्रतिशत रहनेछ । विद्युत्, ग्यास तथा वाष्प र वातानुकूलित आपूर्ति सेवाको क्षेत्र सकारात्मक देखिएको छ । यो क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर चालू आवमा १९ दशमलव ४ प्रतिशत रहने अनुमान छ । चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा १ दशमलव ६ प्रतिशत यो क्षेत्रको योगदान रहने देखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा गतवर्ष यस क्षेत्रको योगदान १ दशमलव ५ प्रतिशत थियो ।

आर्थिक सर्वेक्षणले आर्थिक गतिविधिमा सुस्ती, उत्पादनमा आएको कमी, निर्माण कार्यको शिथिलताजस्ता कारण धेरै क्षेत्रका उद्योगमा प्रभाव परेको देखाएको छ । केही जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुँदा जलविद्युत् क्षेत्रचाहिँ सकारात्मक देखिएको सर्वेक्षणले स्पष्ट पारेको छ । 

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल उद्योगहरूको स्थिति उकास्न प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने बताउँछन् । ‘स्वदेशी उद्योगलाई बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । यसका लागि लगानीमैत्री ऐन कानून निर्माणका साथै उद्योगहरूलाई करमा सहुलियत दिनुपर्छ । बिजुलीको दर पनि सस्तो गर्नु जरुरी छ,’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘बजेट निर्माण गर्दा यथार्थमा आधारित भएर बनाउनुपर्‍यो । हाम्रोमा त्यो प्रचलन अझै शुरू भएको छैन । साधारण खर्च कम गर्दै पूँजीगत खर्र्च बढाउनुपर्ने पनि अहिलेको आवश्यकता हो ।’

स्वदेशी उद्योग उकास्न भन्सार दरमा फरकपन ल्याउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको धारणा छ । ‘कच्चा पदार्थ र तयारी वस्तु आयात गर्दा फरकफरक भन्सार दर निर्धारण हुनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्