कालोसूचीमा परेका कम्पनीले ल्याए मल



काठमाडौं, जेठ १७ । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् । आफैले कारबाही गरेर कालोसूचीमा राखेका कम्पनीले मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड मल नबुझ्ने अडानमा छ ।

यसअघि पटकपटक ताकेता गर्दा पनि मल नल्याएको र सो कम्पनीले चारपटक म्याद थप्दा पनि मल ल्याउन सकेका थिएनन् । अहिले विश्व बजारमा मूल्य घटेका बेला कृषि सामग्रीसँग अनुमति नलिई मल ल्याएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ ।

२०७९ सालमा तीन वर्षका लागि कालोसूचीमा परेका कम्पनीले मल ल्याएकाले आफूहरूले नबुझ्ने अडानमा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ । ‘कृषि सामग्री कम्पनीको इजाजतबिनै कम्पनीले मल ल्याएकाले बुझ्न सकिँदैन,’ एक अधिकारीले भने, ‘हामीले पटकपटक मल ल्याउन ताकेता ग¥यौं तर कम्पनी सम्पर्कविहीन भयो ।’

मलको अभावले किसान छटपटाइरहेका बेला मल ल्याउने ठेक्का पाएका कम्पनी सम्पर्कविहीन भएपछि कृषि सामग्री लिमिटेडले बाध्य भएर चारवटा कम्पनीलाई कालोसूचीमा राखेको ती अधिकारीको दाबी थियो । कृषि सामग्री लिमिटेडले कालोसूचीमा राखेपछि ती कम्पनी मल ल्याउँछौं भन्दै उच्च अदालत गए ।

उच्च अदालतले मल ल्याउन दिन भन्यो । अदालतको आदेश कार्यान्वयन गर्दै कृषि सामग्री कम्पनी लिमिटेडले ४५ दिनभित्र मल ल्याउनका लागि समयसीमा दिए पनि कम्पनीका व्यक्ति नै सम्पर्कविहीन भएको कृषिका एक कर्मचारी बताउँछन् । ‘समय थप्दा पनि मल नल्याएपछि यी कम्पनीको सम्झौता रद्द गरेर सार्वजनिक अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको थियो,’ ती कर्मचारीले भने ।

कृषि सामग्री लिमिटेडले कालोसूचीमा राखेपछि सिल्क, सिनोम्याक, ग्लोबल म्याटिक्स र विध कम्पनीले सोविरुद्ध उच्च अदालतमा रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै २५ माघ २०७९ मा उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र धीरबहादुर चन्दको संयुक्त इजलासले सो कम्पनीलाई प्रतितपत्र सुविधा स्वीकृत गराई सम्झौताबमोजिमको कार्य गर्न लगानी गरेको र चीन सरकारबाट मल निर्यातमा रोक लगाएको एवं उत्तरी नाकाबाट मल निर्यातमा सहजीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखेको देखिएको भन्दै कालोसूचीमा नराख्न आदेश दिएको थियो ।

अदालतको सोही आदेशानुसार सिल्क, सिनोम्याक, ग्लोबल म्याटिक्स र विधले तातोपानी भन्सारबाट मल ल्याएको कम्पनीका सञ्चालक भीमकान्त भण्डारीले बताए । विध कम्पनीले सोही आदेशानुसार अहिले धमाधम सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट मल ल्याइरहेको छ । २५ हजार टन मलमध्ये ५ हजारभन्दा बढी टन आइसकेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्