सुन प्रतितोला १ लाख १२ हजार



काठमाडौं, जेठ १८ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहे पनि नेपालमा भने सुनको मूल्य उच्च दरले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

बजेटपछि प्रतितोला सुनको भाउ ३ हजार ९ सय रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु-याएकाले अहिले नेपालमा सुनको मूल्य उच्च दरले बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले बजेटमार्फत नै प्रतितोला ५ प्रतिशत भन्सार दर बढाइदिएकाले बजारमा यस्तो प्रभाव परेको बताए । यसैगरी, बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर लगाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी, प्रतितोला तेजावी सुन १ लाख ११ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार नयाँ बजेट घोषणा हुने १५ जेठमा छापावाल सुनको भाउ प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । बजेटले सुन आयातमा भन्सारदर बढाइदिएकाले अहिले प्रतितोला झन्डै ४ सय रुपैयाँ मूल्य वृद्धि भएको हो ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर हुने र घटे पनि अहिले यही बजेट प्रभावका कारण नेपाली बजारमा दुई दिनमै प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार मंगलबार भन्सार महसुल बढेको अनुमानित आधारमा मूल्य निर्धारण गरिएको थियो । तर, बुधबार भने भन्सार महसुल थप ५ प्रतिशत बिन्दु बढेको आधारमा मूल्य निर्धारण गर्दा अहिले नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५० डलरमा सुनको कारोबार हुँदा नेपालमा प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस घटेर १ हजार ९ सय ६३ डलरमा झर्दा पनि अझै नेपाली बजारमा हालसम्मकै उच्च रेकर्डमा प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यसरी बढेको बजार भाउले विशेषगरी जेठ र असारमा विवाहका लागि गहना खरिद गर्ने उपभोक्ता चर्को मारमा परेका छन् । सरकारले सार्वजनिक गरेको बजेटले विलासिताका वस्तुका रूपमा हेरिएको सुनको बजार मूल्य मात्र नबढाएर अहिले दैनिक उपभोग्य वस्तु आलु, प्याज र स्याउमा पनि १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) थपिएको छ ।

सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरूमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकाले बिहान कमाएर बेलुकीको छाक टार्नुपर्ने न्यून आय हुने उपभोक्ताको भान्सासमेत थप महँगिएको छ । बजेट प्रभावकै कारण अहिले केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत १३ प्रतिशतले बढाइएको भ्याट जोडिएको छ ।

तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) का उपभोग्य वस्तुमा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेदमा भ्याट लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्