योजनाको पैसाले खाजा !



हेटौंडा, जेठ २२ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीलाई ‘विविध खर्च’ शीर्षक समावेश गरी योजनाको रकमबाट खाजा खर्चको भुक्तानीसमेत दिने गरेको खुलेको छ ।

उपभोक्ता समितिका पदाधिकारीलाई भुक्तानी बिलमा निर्माण कार्यसम्बन्धीखर्चबाहेक पनि खाना र खाजालगायत विभिन्न खर्चको समेत भुक्तानी दिएको महालेखापरीक्षकको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत् सञ्चालन गरेका योजनाको बिलमा विविध खर्चको बिल भुक्तानी गरेको पाइएको हो । इन्द्रसरोवर गाउँपालिकाले राधाकृष्ण मन्दिर निर्माण, सलेमले–हाँसुली सडक स्तरोन्नति, महालक्ष्मीखोला पुल निर्माणलगायत योजनामा उपभोक्ता समितिको खाजा र खानाको बिलसमेत भुक्तानी दिएको पाइएको हो । तर, व्यवहारिकतालाई ध्यान दिई पालिकाको निर्णयअनुसार विविध खर्च समावेश गर्ने गरेको पालिकाको प्रतिक्रिया आएको जनाइएको छ ।

पालिकाले उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएको योजनाको खर्च सार्वजनिक गर्ने नगरिएको पनि पाइएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा पालिकाको वार्षिक कार्यक्रममा ४ लाख बजेट व्यवस्थापन गरे पनि सार्वजनिक सुनुवाइ नगरेको उल्लेख छ ।

सार्वजनिक सुनुवाइ नगरिएकाले निर्माण कार्यको वास्तविक अवस्थाका सम्बन्धमा यकिन हुनसक्ने अवस्था नदेखिएको प्रतिवेदनमा भनिएको छ । पालिकाले स्थानीय सहकारी संस्थाको कार्यालय व्यवस्थापन खर्चका लागि दिएको अनुदान नियमसम्मत नभएको पाइएको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्