चितवनको फ्रेस हाउसमा भेटियो ५ बोरा कुहिएको मासु, किमा बनाएर किङ्ग मः म: लाई विक्री गरिन्थ्यो



चितवन,जेठ २२  । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सञ्चालित  मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पांँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट गरिएको छ ।

आइतबार दिउसो महानगरको टोली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी , उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलीले नष्ट गरेको हो । 

टोलीले मालिका फ्रेस हाउस बन्दसमेत गराएको छ । मालिकाको एउटै फ्रिजमा मात्र अव्यस्थित र सड्न लागेका  खसीका टाउका, कुखुराको मासु, टाउको , खुट्टा , माछा र कुकुरलाई दिन राखिएको कुखुराका हड्डी एकै ठाउँमा मिसाएर राखिएको पाईएको  थियो ।  

उपभोक्ताको अधिकार र स्वास्थ्यमा गम्भिर लापरवाही गरेको भन्दै उक्त पसलको मासु नष्ट गर्नुका साथै बन्द गराईएको अधिकारीले जानकारी दिए । 

मालिका फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनाले खान मिल्ने र नमिल्ने मासु एउटै फ्रिजमा राखिएको स्वीकार समेत गरेको तर तिमिल्सिनालाई आवश्यक कारवाही हुने अधिकारीको भनाई छ  ।

महानगरका पशु चिकित्सक डा. दिपेश केसीको सुझावका आधारमा खान पूर्ण रुपमा अयोग्य भएपछि  मासु जफत  गरिएको हो । बिक्री गर्न लागिएको उक्त मासु चैत्र महिनादेखि राखिएको पसलका कर्मचारीले बताएका थिए । 

सबै प्रकारका  मासु एउटै फ्रिजमा भद्रगोल तरिकाले राखेको भेटिएपछि मासु बरामद गरिएको महानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख ठानेश्वर सापकोटाले बताउनु भयो । ‘खान अयोग्य देखिएपछि जनप्रतिनिधिको रोहवरमा मासु र मम बरामद गरी नष्ट गरेका हौँ’ उनले भने  । 

उक्त मासु पसलले भरतपुरमै सञ्चालित फ्रोजन मःमलाई किमा बनाएर बेच्ने गरेको पाईएको छ ।  सो क्रममा टोलीले उक्त किङ्ग मममा गएर अनुगमन गर्दा अस्वस्थकर मम बेचेको पाईएकोले । उक्त पसलबाट समेत १ हजार प्लेट फ्रोजन मःम जफत गरी नष्ट गरिएको पशु चिकित्सक डा केसीले जानकारी दिए । मालिकाबाट मासुको किमा किनेर किङ म:मले फ्रोजन मम बनाउने गरेको पाइएको छ ।

फ्रोजन मःम सप्लाई गर्दै आएको किङ मःमले फ्रोजन म:मको प्याकेटमा लेबल र अनुज्ञा पत्र समेत नलिएको उनले बताए । गर्मी बढेसंँगै भरतपुर महानगरमा सञ्चालित जुस पसल, क्यान्टिन, होटल , रेष्टुरेण्ट, खाजा पसलमा अस्वस्थ खाद्यबस्तु बिक्री गरेको गुनासो बढेपछि उपप्रमुखको चित्रसेन अधिकारीको निर्देशनमा  अनुगमनलाई तीब्रता दिईएको हो । 

प्रतिक्रिया दिनुहोस्