अर्थमन्त्री डा. महतसँग विश्व बैंकका उपाध्यक्ष रेजरको भेट



काठमाडौं,जेठ २५ । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गरे । 

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै मुख्यतः पूर्वाधार विकासमा जोड दिन आग्रह गरे । पूर्वाधार विकास र सामाजिक विकासका सूचकबीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरिब तथा  पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट ससाना बजारमा उनीहरुको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरमा पहुँच विस्तार हुँदै जाने धारणा राखेका छन् ।

कोभिड–१९ को कारण जनजीवनमा प्रतिकूल प्रभाव पारेको भए पनि सूचना प्रविधिको विकासमा नयाँ अवसर सिर्जना भएको तथा कोभिड पश्चात् पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको उनको भनाइ छ। सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहनेतर्फ इंगित गर्दै उनले साँवा ब्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापनतर्फ सचेत रहनुपर्ने तर्फ जोड दिए । माथिल्लो अरुण आयोजनाको लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको नेतृत्वदायी भूमिकाको लागि अर्थमन्त्री महतले धन्यवाद दिएका छन् ।

उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्नेगरी काम गर्न आग्रह गरे । भेटको अवसरमा विश्व बैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोससहित विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्