नुवाकोटमा धान दिवसमा भएको खुल्ला घाँसे गीत प्रतियोगितामा दलबहादुर डङ्गोल प्रथम
नुवाकोट,असार १५ । नुवाकोटको बिदुर नगरपालिका वडा सात कमलेटारमा २० औं धान दिवसको अवसरमा भएको खुल्ला घाँसे गीत प्रतियोगितामा दलबहादुर डङ्गोलको समूह प्रथम भएको छ ।
शुक्रबार भएको प्रतियोगितामा दलबहादुर डङोलको समूह प्रथम भएको हो । डङोलको समूहमा भरत ढकाल, सुष्मा प्याकुरेल र चन्द्रकुमार बस्नेत रहेका थिए । प्रतियोगितामा भुमिन्द्र न्यौपाने, दिलमाया लमिनी, रेशम लामिछाने, कमला थापामगरको समूहले दोस्रो पुरस्कार हात पारेका छन् ।
त्यस्तै तेस्रो पुरस्कार कमला पनेरू, पार्वती देवकोटा, राजकुमार थापामगर , कमला गुरुङको समूहले जितेको छ ।प्रतियोगिताको निर्णायकमा गायक राजेन्द्र पाठक, गायिका अर्चना स्याङतान र प्रतिभ कोइराला रहेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, दोस्रो पुरस्कार ३ हजार र तेस्रो पुरस्कार २ हजार प्रदान गरिएको थियोे । पुरस्कारको प्रायोजन बिदुरमा रहेको अधिकारी एग्रो स्टोर एण्ड सर्भिस सेन्टरले गरेको थियोे ।
कार्यक्रममा प्रमुख आतिथ्यता बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सांसद बहादुरसिंह लामा र बिदुर नगरका उप प्रमुख प्रभा बोगटीको रहेको थियोे । कार्यक्रमको थप आकर्षण हिलेदौड, डोरी तान्ने प्रतियोगिता, फुटबल प्रतियोगिता लगायत रहेको थियोे । कार्यक्रम रेडियो लाङटाङ र स्थानीय क्लबले आयोजना गरेको थियोे ।
धान दिवसको अवसरमा नुवकोटको किस्पाङ गाउँपालिका, पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिका , त्यस्तै बेलकोटगढी नगरपालिका मा जलवायु अनुकुलित कृषकमैत्री प्रविधि , धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ विविधि कार्यक्रमको आयोजना गरि धान दिवस मनाइएको छ ।

