पार्टी एकताका लागि पहल हुँदैछः प्रचण्ड



कास्की,असार १६ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

शनिबार बिहान कास्कीको पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । आफ्नो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको भन्दै त्यसले समाजवादको आधार निर्माणका लागि काम गर्ने साथै माओवादी एकताको आधार पनि बन्ने उनले बताए ।

‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ’ उनले भने, ‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ । फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ ।’

यस्तै उनले सामन्तवाद र प्रतिक्रियावादले थुपारेको फोहोरको डङ्गुरलाई सफा नगरी देश नबन्ने भन्दै देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी रहेको बताए । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको उनको भनाइ थियो ।

‘परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ’, प्रधानमन्त्रीले भने, ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्