न्यायालयका कर्मचारीको आन्दोलनका कारण देशभरका अदालतको काम प्रभावित
काठमाडौं,असार १७ । उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ । कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको जानकारी दिए । उनले अदालतमा रहेका कर्मचारीका आधिकारिक ट्रेड युनियनहरूले काम रोक्नका लागि विज्ञप्ति जारी गरेको र अदालतहरूमा सुनुवाइ हुन नसकेको बताए ।
असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ ।

