पर्यटन प्रर्वद्धन गर्न चितवनको माडीमा ‘स्काई चियर’ सञ्चालन 



चितवन,असार १९ । माडीको लक्ष्मीनिवासस्थित ‘पुष्प–मदन स्मृति वनवाटिका’मा स्काई चियर (आकासे कुर्सी) सञ्चालनमा आएको छ ।

चितवनकै पहिलो सो आकासे कुर्सीको माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेमप्रसाद महतोले बिहीवार संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै मेयर महतोले माडी नगरपालिकाले ‘माडी पर्यटन वर्ष’सहित पर्यटकीयस्थलको प्रवद्र्धनमा जोड दिइन् । आर्थिक वर्ष (आव) २०८०÷८१ को नीति तथा कार्यक्रममा समेत यो विषय प्राथमिकतामा राखेको उनको भनाइ छ । आगामी आवमा ‘एक वडा एक पर्यटकीय गन्तव्य’ पहिचान तथा विकास कार्यक्रम सञ्चालन गर्ने, ‘एक वडा एक विशेषता’सहितको होमस्टे सञ्चालन तथा प्रवद्र्धन कार्यक्रम गर्ने, सिमरा गाउँलाई थारु संस्कृति झल्कने गरी थारुग्राम विशेष पर्यटकीय क्षेत्र घोषणा गर्ने मेयर महतोले बताइन् ।

वाटिकामा विशेषगरी, शनिवार र बिदाका दिन पिकनिक तथा घुमफिर गर्न जानेको चहलपहल हुन्छ । वाटिका घुम्नका लागि आन्तरिक र बाह्य पर्यटक उल्लेख्य रूपमा आएर मनमोहक वातावरणमा रमाउने गरेको पुष्प–मदन स्मृति वाटिका व्यवस्थापन समितिका अध्यक्ष श्याम विष्टले जानकारी दिए ।

अहिले वाटिकामा टावर, पिङ, बाल उद्यान, वनभोज स्थल, गोलघर, सभाहल निर्माणको कार्य सम्पन्न भइसकेको र पारिवारिक पिकनिक स्पट, बाल उद्यान, खोज अनुसन्धान कक्ष, जीवजन्तुको उद्धार तथा पुनस्र्थापना केन्द्र लगायत निर्माणाधिन रहेको अध्यक्ष विष्टको भनाइ छ ।

माडी–६, कल्याणपुरमा अवस्थित रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस वाटिकासँगै रहेको भ्यू–टावर, संग्रहालय, बाल उद्यान, वनभोजस्थल रहेकोले बिदा मनाउन र वनभोज तथा घुमफिरका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए ।

यस वाटिका रहेको भ्यू–टावरबाट माडी उपत्यकाका विभिन्न ठाउँहरुको सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय पुष्प–मदन वाटिकामा जंगली जनावर बाघ, गैँडा, हरिण, मयूरका मूर्ति राखेपछि थप यस ठाउँको सुन्दरता बढेको उनको भनाइ छ।

वाटिका क्षेत्रभित्र, भ्यू–टावरसँगै रहेको घुम्ने (रोटेटिङ) मोडेलको सो स्काई चियर माडी नगरपालिकाको सहयोगमा निर्माण भएको हो । साहसिक खेलका रूपमा लिइने स्काई चियर सञ्चालनमा आएसँगै वनवाटिकामा पर्यटकको आकर्षण बढेको छ । 

माडीको वाल्मीकि आश्रम क्षेत्र, अयोध्याधाम, सोमेश्वरगढी, वैकुण्ठधाम क्षेत्र, गोद्धक क्षेत्र, शनिमन्दिर, वैकुण्ठे ताल, रेवा त्रिवेणीलगायतका ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी एकीकृत विकासका लागि विशेष पहल गरिने नगरप्रमुख महतोले बताइन् ।

प्रतिक्रिया दिनुहोस्