बाढीले बगाएको हेवा खोलामा बेलिब्रिज निर्माण गर्न अझै पन्ध्र दिन लाग्ने  



काठमाडौं,असार १९। मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ ।

यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको थियो । मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी राजमार्गका पुल बगाएको हो । तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्यपहाडी एउटा/एउटा पुल बगाएको छ त्योमध्ये  धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले निर्माण शुरू गरिएको छ ।

मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै शुरू भएको थियो । एकातिर जग (फाउण्डेसन) तयारी भइरहेको छ । अर्कोतिर बेलिब्रिज पनि फिट गर्दै गर्न तयारी अवस्थामा रहेको बेलिब्रिजका भाग जोड्नका लागि जग आवश्यक भएकाले जग निर्माणको काम धमाधम भइरहेको छ ।

यहि रफ्तारमा काम भए १५ दिनमा बेलिब्रिज निर्माण हुनेछ । अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ ।

मेची राजमार्गको यो पुल नबनेकाले यातायात नै ठप्प भएकाले प्राथमिकता अहिले त्यसैलाई दिइएको हो। अरु दुई ठाउँमा पानी कम भएपछि बेलिब्रिज राखिने योजनाविभागको छ । मध्यपहाडी क्षेत्रमा बेलिब्रिजका लागि सामान लैजान पनि पहिले मेची राजमार्गको बेलिब्रिज बनिसक्नुपर्ने छ ।

मध्यपहाडी राजमार्गमा चियोभञ्ज्याङ नजिकै पुल बगाएको थियो । मेची राजमार्गले जतिको धेरै नागरिकलाई असर पुर्‍याउने नभए पनि यसले त्यहाँका गाउँ जोड्ने सडक भएकाले त्यहाँका स्थानीयवासीलाई वारपारमा समस्या भएको छ । सडकमा थोरै पहिरो खसे पनि ठूलो क्षति भएको छैन । यो वर्ष वर्षाको शुरूमै आएको बाढीले कोशी प्रदेशमा सडकका पूर्वाधार बगाउँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ । रासस

प्रतिक्रिया दिनुहोस्