पर्यटन प्रवर्द्धनको लागि १ अर्बभन्दा बढीको बजेट ल्याउँदै पर्यटन बोर्ड



काठमाडौं,असार २१ । पर्यटन प्रवर्द्धनको काम गर्दै आइरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ३० करोड रुपैयाँ रकम बराबरको बजेट ल्याउने भएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले उक्त बजेटमा अन्तरराष्ट्रिय बजारमा नेपाली पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधारको लागि प्रयोग हुने बताए ।

मंगलवार बोर्डमा विभिन्न मिडियामा आवद्ध पर्यटन बिट हेर्ने पत्रकारहरू तथा फोटोपत्रकारहरूसँग अन्तरक्रियामा सीईओ रेग्मीले आगामी आर्थिक वर्षको बजेटको ८० प्रतिशत अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गरिने र बाँकी २० प्रतिशत रकम पर्यटन पूर्वाधारमा खर्चिने बताए । 

‘सन् २०२५ मा सरकारले नेपालमा विशेष भ्रमण वर्ष आयोजना गर्न लागेको छ। विदेशी पर्यटक बढाउन सरकारसँग हातोमालो गर्दै अघि बढ्ने र त्यसलाई पनि हेरेर बजेट व्यवस्था गर्दैछौं,’ उनले भने । 

कार्यक्रममा सीईओ रेग्मीले नेपालमा बाह्य तथा आन्तरिक पर्यटन वृद्धि गर्न आएका समस्याहरू र समाधानका लागि बोर्ड एक्लैले भन्दा कलम र क्यामेराको अझ सशक्त भूमिका रहेको बताउँदै पर्यटन प्रवर्द्धनसम्बन्धी कामहरू र आगामी दिनहरूका योजनाका विषयमा पनि प्रकाश पारेका थिए ।

पोखरामा भर्खर सम्पन्न नेपाल चीन ड्रागन बोट रेस प्रतियोगिताको सफलतापछि चिनियाँ पर्यटकको आगमन बढी हुने आशा रहे पनि बोर्डले भारत र चीनमा बढी केन्द्रित भएर पर्यटनका गतिविधि प्रचार गर्नेसमेत उनले बताए।

उनका अनुसार बोर्डले विभिन्न मुलुकमा नेपाली पर्यटनको अन्तरराष्ट्रिय सञ्चार माध्यम, फाम ट्रीप, बिटुबी मिटिङलगायत कार्यक्रममार्फत प्रवर्द्धन गर्नेछ । ‘पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकहरू बढिरहेकाले बोर्डले यस्ता गन्तव्य प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ ।त्यसैअनुरूप पत्रकारहरूलाई नयाँ गन्तव्य स्थानहरूमा फाम ट्रीपलाई निरन्तरता प्रदान गर्ने योजना बोर्डको रहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्