प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमाडौं,असार २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगत्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरुद्ध गरेको हो । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै हिजो बसेको बैठक पनि अवरुद्ध गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने एमालेको अडान छ । केहि दिन अघि प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको प्रधानमन्त्री बनाउने र भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको बताउँदै एमालेले बैठक अवरुद्ध गरेको हो । बैठक अवरुद्ध भएसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्को बैठक यहि असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका थिए ।