समस्या समाधान भएपछि मात्र सदन अघि बढ्छ : सभामुख घिमिरे



काठमाडौं,असार २३ । सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताएका छन् । संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति दिन उचित हुने उनले बताए । 

न्युज एजेन्सी नेपालसँग शनिबार कुरा गर्दै उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भुमिका आफूले निर्वाह गरिरहेको बताए । प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गरी संसद सुचारु गर्न आफूले आग्रह गरेको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल र प्रतिपक्ष दलका नेतालाई पनि सिधै राजीनामा माग्नुभन्दा वार्तामार्फत समस्या समाधानका लागि अग्रसर हुन आफूले सुझाएको उनले बताए । वार्ताबाट समस्या समाधान गरी संसदको गतिरोध हट्नेमा आफू विश्वस्त रहेको उनले चर्चा गरे ।

सभामुखको भुमिका संसदमा तटस्थ हुनुपर्नेमा आफू सचेत रहेको बताउँदै संसद झगडा गर्ने थलो बन्न नहुने उनको भनाइ छ । सभामुखको भूमिका सधैं तटस्थ र सन्तुलित हुनुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्