संसद्लाई शीर्ष दलको सिन्डिकेट बनाउन खोजिएको लामिछानेको आरोप



काठमाडौं,असार २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् । आइतबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद्लाई कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका हुन् । 

उनले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले दलहरूले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरूले नसहने बताए । उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे । 

उनले भने, ‘सदन तीन नेताको होइन। सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उनीहरूको सल्लाह मिल्यो भने संसद् चल्ने भयो। नमिल्दाखेरी संसद् नचल्ने भयो। संसदमा स्वतन्त्र रूपमा जितेर आएको मानीज्यूको पनि उत्तिकै भूमिका रहन्छ। संसद्लाई संसद्जस्तो बनाउनुपर्छ।’’ 

प्रतिक्रिया दिनुहोस्