मौसम पूर्वानुमान थाहा हुने भएपछि उडान सुरक्षित

नेपालगन्ज,असार २४ । नेपालगन्जबाटै पश्चिम नेपालका सबै जिल्लाको मौसम पुर्वानुमान जानकारी हुन थालेको छ । नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी गराउने डिजिटल प्रणाली जडान गरिएपछि विहानै यहाँबाट पश्चिम नेपालको दिनभरिको मौसमबारे जानकारी हुन थालेको हो ।
पश्चिम नेपालका विभिन्न पहाडी र हिमाली जिल्लामा हुँदैआएको हवाई उडानलाई सहज र सुरक्षित बनाउन नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी दिने डिजिटल प्रणाली जडान गरिएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार नागरिक उड्डयन प्राधिकरण, प्राधिकरणको मौसम पुर्वानुमान महाशाखा र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली जडान गरेर सञ्चालनमा ल्याइएको छ ।
यसअघि मौसम पुर्वानुमानसम्बन्धि जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखाले दिनेगरेको थियो भने अहिले नेपालगन्जमै डिजिटल प्रणाली जडान गरिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट सो जानकारी दिन थालिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका वरिष्ठ मौसम विज्ञ शुभाष रिमालले नेपालगन्ज आन्तरिक हवाई उडानको हब नै भएकाले पहाडी र हिमाली जिल्लामा हुने उडानलाई सहज सरल र सुरक्षित बनाउन मौसम पुर्वानुमान डिजिटल प्रणाली जडान गरिएको बताए ।
उनले नागरिक उड्डयन कार्यालयको बारम्बारको आग्रहमा सो प्रणाली सञ्चालनमा ल्याएर हरेक दिन विहान साढे ५ बजेदेखि ६ बजेसम्म विभिन्न एअरलाइन्सलगायत सम्बद्धलाई मौसम पूर्वानुमानको जानकारी गराउने गरिएको बताए ।