नुवाकोट पञ्चकन्याको घ्याङस्वाराँ पार्कमा रोपियो १३ हजार चियाको विरुवा

नुवाकोट,असार २६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा अवस्थित घ्याङस्वाराँ पार्कमा १३ हजार चियाको विरुवा रोपिएको छ ।
‘कोहि भन्दा छैन कम, पालिकालाई एकदिन श्रम’ भन्ने नारासहित गाउँपालिकाद्वारा आयोजित चियारोपणमा पार्कको खाली रहेको ३ सय रोपनी क्षेत्रफलमा चियाको बिरुवा रोपिएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
नीति तथा कार्यक्रम अन्तर्गत बजेट अभाव भएपछि सो नाराको साथसाथै गाउँपालिकाको सम्पुर्ण कर्मचारीको उपस्थितिमा वृक्षरोपण गर्ने तयारी गरिएपनि सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेकाले समयमै चियारोपण सम्पन्न भएको पञ्चकन्या गाउँपालिका रोजगार शाखाले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारी संस्थाको ब्यानरसहित घ्याङस्वारा पार्क पुगेका थिए। मंगलबार भएको चियाको बिरुवा रोपण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न गैर सरकारी संघ-संस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।
चियारोपणसंगै पार्कमा २ सय संख्यामा सुन्तलाको बिरुवा रोपिएको छ । गैरसरकारी संस्था रुडेक नेपालले पार्कको दायाँबायाँ फूलको बिरुवा लगाएको छ ।
हेरौं तस्बिरहरु






