पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान



काठमाडौं,असार २७ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन। पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनी दाहालले बुधबार भौतिक संसार छाडेकी छिन् । 

निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित भएकी सीताको बुधबार बिहान ८:३३ बजे निधन भएको उनको उपचारमा संलग्न प्रा. डा. युवराज शर्माले जानकारी दिएका थिए । खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन्। 

सञ्चारकर्मीसँगको एक भेटमा सीताले भनेकी थिइन्, “पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे।”

तत्कालीन नेकपा (माओवादी)भित्रका अन्तरविरोध समाधान गर्न उनले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ। लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहेका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उनले खेलेको भूमिका महत्वपूर्ण छ।

“यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ। सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गरिन। तपाईंको महाप्रस्थानमा निकै दुःखी छु। तपाईंको अभाव महसुस भइरहनेछ”, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् , “केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ। हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल। खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना।” 

प्रतिक्रिया दिनुहोस्