व्यावसायिक च्याउखेतीमा मियाँ परिवार



रौतहट,असार २८ । रौतहटको कटहरिया नगरपालिका–४ बलिरामपुरका सुदिन मियाँले व्यावसायिक च्याउखेती गर्दै आएका छन् । २०७२ सालदेखि च्याउ उत्पादनमा लागेका मियाँका परिवारका सबै सदस्य यसमा संलग्न छन् । ८ वर्षदेखि च्याउखेती गर्दै आएका मियाँ अहिले यसबाट मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउँछन् । च्याउ उत्पादन गर्ने तालीम लिएर उनले ५० हजार रुपैयाँको लगानीमा च्याउखेती शुरू गरेका थिए ।

अहिले उनले चार कठ्ठा क्षेत्रफलमा टनेल बनाएर विभिन्न प्रजातिका च्याउ उत्पादन गर्दै आएका छन् । उत्पादित च्याउ स्थानीय कटहरिया तथा आसपासका बजार क्षेत्रमा विक्री हुने गरेको उनको भनाइ छ । च्याउ उत्पादन राम्रै भए पनि बजारीकरणमा भने समस्या भएको उनको गुनासो छ । उत्पादन गरिएका सबै च्याउ विक्रीका लागि बजार व्यवस्था नभएको उनले बताए । 

विभिन्न बैंकबाट ऋण लिएर व्यवसायमा लगानी गरेको भए पनि च्याउको बजारीकरणमा भएको समस्याले कहिलेकाहीँ किस्ता बुझाउन पनि गाह्रो हुने गरेको उनको भनाइ छ ।

अहिले बजारमा च्याउ प्रतिकिलो २०० रुपैयाँमा विक्री हुने गरेको छ । च्याउ उत्पादन बढी हुने समयमा घरपरिवारका सदस्यबाहेक अन्यलाई रोजगारी समेत दिने गरेको मियाँले बताए । मेशिन नै खरीद गरेर च्याउको बीउ उत्पादनमा लागेका उनलाई यसको बजारको भने चिन्ता छ ।

यता, कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश जयसवालले च्याउ उत्पादनकै लागि भनेर कुनै ठोस कार्यक्रम नभए पनि कृषि विद्युतीकरणका लागि बजेट छुट्ट्याएको बताए । उनका अनुसार नगरभरिका कृषकका लागि नि:शुल्क कृषि मिटरको व्यवस्था गरिएको छ ।

च्याउको मागभन्दा पनि बढी उत्पादन हुने भएकाले बजारीकरणमा समस्या भएको कृषि ज्ञान केन्द्र गौरका प्रमुख हरिशंकर साहले बताए । तयारी च्याउ र बीउमा रौतहट आत्मनिर्भर रहेको उनको भनाइ छ । उनका अनुसार जिल्लामा दैनिक ५ देखि ६ मेट्रिक टन च्याउको माग छ भने ८ मेट्रिक टनसम्म उत्पादन भइरहेको छ । यहाँ उत्पादित च्याउ छिमेकी जिल्लासम्म पुग्ने गरेको उनले बताए ।

प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ७५ प्रतिशत अनुदानमा कृषकलाई च्याउको बीउ वितरण गर्ने गरेको छ । प्रदेश सरकारले बाली संरक्षण प्रयोगशालामार्फत बीउ उत्पादन गराउने लक्ष्य पनि राखेको साहले बताए । जिल्लाका चन्द्रपुर, कटहरिया, गुजरा, वृन्दावन लगायत पालिकामा च्याउ उत्पादन हुँदै आएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्