चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा



काठमाडौं,असार ३०। दार्चुला र बझाङका नदी कोरिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट शुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो ।

कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचनाहरू बनाइएकामा आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो । नेपाल सरकारको करीब रु ६० करोड लगानीमा दोस्रो सर्किट निर्माण गरी उक्त लाइन सञ्चालनमा ल्याइएको हो ।

त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘चमेलिया जलविद्युत् आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लास्थित खोलानालाहरूमा जलविद्युत् आयोजना निर्माणका लागि ढोका खुलेको छ,’ उनले भने । अब त्यस क्षेत्रमा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । त्यहाँ उत्पादित विद्युत् स्थानीयरूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर र पश्चिम क्षेत्रमा भोल्टेजमा सुधार हुने भएको छ ।

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करीब ११० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा १३२÷१३३ केभी सबस्टेसन सञ्चालित छ । 

बलाँच सबस्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेलधुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ । स्याउले सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमशः करिब ८० र २०० मेगावाट हुन्छ ।

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४÷७५ देखि शुरु गरिएको थियो । कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेलधुरा तथा दार्चुला जिल्लाका केही स्थानीयवासीले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्