कामपाको बजेट सर्वसम्मत पारित

काठमाडौं,असार ३० । काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार बसेको नगर सभाको बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको जानकारी दिए । नगर सभा बैठकमा नीति तथा कार्यक्रम र बजेट महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले निर्णयार्थ पेस गरेका थिए ।
महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले असार १० गते राष्ट्रिय सभागृहमा २५ अर्ब ५४ करोड रुपियाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपियाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपियाँ विनियोजन गरिएको छ। चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ।
बैठकमा नगर सभा सदस्यले सडकपेटीको व्यापार निषेध मात्र नगरी त्यसको उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै हनुमानढोका क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गर्ने महानगरको निर्देशनप्रति असन्तुष्टि व्यक्त गरे ।
त्यसैगरी बजेटमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फ एक अर्ब ४५ करोड ६२ लाख ४६ हजार रुपियाँ, निःसर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार रुपियाँ, आन्तरिक आयतर्फ छ अर्ब ३९ करोड २० लाख रुपियाँ, बैङ्क मौज्दात ११ अर्ब ७५ करोड रुपियाँ, राजस्व बाँडफाँटतर्फ दुई अर्ब १६ करोड ५९ लाख ४४ हजार रुपियाँ र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको दुई अर्ब ९९ करोड रुपियाँ गरी जम्मा २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।