कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी
काठमाडौं,साउन २ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् ।
उनले अरू ११ महिना नै पार्टी नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका छन् । असार महिना किसानको महिना र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ।
उनले भने,‘‘असार महिनामा किसानको समय हो। किसानको समस्यामा सहजीकरण गर्ने। समुदायलाई अफ्ठेरो परेको बेलामा तयारी हुन्छौँ। केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउछन् । त्योबाहेक समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि उनीहरू विभागमा हुनुहुन्छ। काम गरिरहेको अवस्था बन्छ।’’

