प्रधान र आचार्यलाई ‘हेम बहादुर मल्ल सम्मान’



काठमाडौं,साउन ३ । सार्वजनिक प्रशासन तथा व्यवस्थापका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई दिइने ‘हेम बहादुर मल्ल सम्मान’ गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु प्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । 

प्रधानलाई २०७७ सालको र आचार्यलाई २०७८ सालको सम्मान गरिन लागिएको हो । उनीहरूलाई भोलि (बुधवार) काठमाडौंमा कार्यक्रम आयोजना गरी सम्मान गरिने बताइएको छ । 

प्रधानले झण्डै चार दशक सरकारी सेवामा बिताएका छन् । विशेषगरी प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ र पर्यटन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँगै उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको रूपमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको भन्दै प्रधानलाई उक्त सम्मान गरिन लागिएको हो । उनी यो सम्मान पाउने अठारौं व्यक्ति हुन् ।

यस्तै, आचार्यलाई महालेखा नियन्त्रक, अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परीक्षककारूपमा उत्कृष्ट भूमिका निर्वाह गरेको यो सम्मान गरिन लागिएको हो । उनी यो सम्मान पाउने उन्नाइसौं व्यक्ति हुन् । 

सम्मान छनोटका लागि पूर्वगभर्नर एवं पूर्वसचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा समिति गठन गरिएको थियो, जसमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तत्कालीन अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ, पूर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र याम कुमारी खतिवडा सदस्य थिए । 

ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले सम्झना र सम्मानमा यो सम्मान स्थापना गरिएको हो । उक्त सम्मान पाउनेलाई सम्मानपत्रसहित नगद २ लाख रुपैयाँ प्रदान गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्