वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था



चितवन,साउन ६ । चितवनको एतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९÷८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो । माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको रु पाँच÷पाँच लाखको लागतमा सोे व्यवस्था गरिएको हो ।

वाल्मीकि क्षेत्रका सात ठाँउमा खानेपानीको धारा निर्माण गरिएको माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले बताए । उनका अनुसार महिला पुरुषका लागि छुट्टछुट्टै शौचालय निर्माण गरिएको छ । यसअघि चापाकलको पानी खानुपर्ने बाध्यता रहेको थियो ।

वाल्मीकि आश्रम क्षेत्रमा बाह्र घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र  चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन्  । यहाँ दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । नेपालबाट भन्दा धेरै भक्तजन भारतबाट दर्शनका लागि आउने गरेको वडाध्यक्ष लामाले बताए । उनले वाल्मीकि आश्रम नेपालकै महत्वपूर्ण एतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिए । उनले सडक र बिजुली बत्तीको व्यवस्थापनको काम बाँकी रहेको भन्दै यो आवमा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्