विद्युतीय सवारी आयात हालसम्मकै उच्च, झण्डै १२ अर्बको ४ हजार बढी इभि नेपाल भित्रियो

काठमाडौं,साउन ९ । विद्युतीय सवारी (कार,जीप र भ्यान) प्रति नेपालीको आकर्षण चुलिएको छ । एक वर्षमा ४ हजार बढी विद्युतीय गाडी नेपाल भित्रिएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।विद्युतीय सवारी आयात उच्च दरमा वृद्धि भएको छ । समिक्षा अवधिमा ४ हजार ५० वटा विभिन्न तौल क्षमताका विद्युतीय सवारी नेपाल भित्रिएको हो । जुन हालसम्मकै उच्च आयात हो ।
गत असार मसान्तसम्ममा ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।जुन, अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा २.२४ गुणाले बढी हो । अघिल्लो आवमा कुल ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार ८०७ वटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएको थियो । सरकारले पाउने राजश्व पनि दोब्बर वृद्धि भएको छ । विद्युतीय सवारी आयातबाट ३ अर्ब ३० करोड ४४ लाख बढी राजश्व सरकारले प्राप्त गरेको हो ।
नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि विस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको संख्या वृद्धिमा थप योगदान गरेको छ ।
नेपालमा विश्वका भारत, चीन, कोरिया, अमेरिका, बेलायतबाट विद्युतीय सवारी आयात हुने गरेको छ । ती मुलुकहरुबाट १०० किलोवाटदेखि ३०० किलोवाटसम्मको तौल क्षमताका इभि नेपाल आउने गरेको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।
नेपालमा विद्युतीय सवारीमा आकर्षण र माग बढ्दोक्रममा रहेको नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुप थापाले बताए । उनका अनसार अनुपातका आधारमा दक्षिण एशियामै नेपालमा विद्युतीय सवारीको माग बढी रहेको छ । ‘आम नेपालीमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र यसको माग बढी छ । नेपाल मात्र नभई विश्वका हरेक मुलुक इभिप्रति आकर्षित छन् । अनुपातको आधारमा दक्षिण एशियामै नेपालमा इभीको माग उच्च रहेको देखिन्छ’– अध्यक्ष थापाले भने । नेपाल जस्तो विकासोन्मुख देशमा इभिप्रति आकर्षण बढ्नु सकरात्मक रहेको थापाको भनाई छ ।
विशेषगरि इभिमा अपरेशन लागत पनि कम लाग्ने भएकाले यस तर्फ आकर्षण बढेको व्यवसायीहरु बताउँछन् । पेट्रोलिय पदार्थबाट चल्ने गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकुल र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले विद्युतीय सवारी आम प्रयोगकर्ताको रोजाईमा परेको व्यवसायीहरुको भनाई छ । पेट्रोल, मर्मत, सर्भिसिंङ, क्लीच, गियर, मोविल लगायतको खर्च पनि बचत हुने र दीर्घकालिन सोच राख्नेका लागि विद्युतीय सवारी सस्तो हुने भएपछि यस तर्फ आकर्षण बढेको विज्ञहरुको भनाई छ ।
पेट्रोलियम पदार्थको परनिर्भरता घटाउनका लागि इभिलाई प्रोत्साहन गरिएको हो । तर, करको दरमा भने केही हेरफेर भएको छ । बजेट मार्फत १०० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीमा पुरानै दर कायम गरिएको छ । तर, १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भने ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्त:शुल्कको व्यवस्था गरेको छ । भन्सार महसुल मात्रै थियो । यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्त:शुल्क दर तोकिएको छ । ३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्त:शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका संख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ ।
नेपाल विद्युत प्राधिकरणले पनि विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माण गरिरहेको छ । हाल प्राधिकरणले देशभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माण कार्य अघि बढाएको छ । तीमध्ये भरतपुर, खुर्कोट, सिन्धुली, रत्नपार्क, महेन्द्र पुलिस क्लब मुग्लिन, बर्दिवास लगायतका ३२ वटा निर्माण सम्पन्न भएका छन् । प्राधिकरणले अब बाँकी स्टेशन पनि छिट्टै संचालनमा ल्याउने तयारी थालेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेशन निर्माणका भईरहेका छन् । उक्त चार्जिङ स्टेशन हरु सञ्चालनमा आएपछि विद्युतीय सवारी साधानलाई सहजता प्रदान हुने बताइएको छ ।
मासिक ३३७ वटा इभि नेपाल भित्रियो, कुन महिना कति ?
नेपालमा मासिक करिव ३० भन्दा बढी विद्युतीय गाडी आयात हुने गरेको छ । विभागको तथ्याङ्क अनुसार औसतमा ३३७ वटा गाडी नेपाल भित्रीएको पाइएको छ।
चालु आवको पहिलो महिनामा २११ वटा सवारी आयात भएको थियो । भदौमा भने बढेर ४१४ वटा गाडी आएको थियो । असोज महिनामा भने थप २९१ वटा, कात्तिकमा ३१३, मंसिरमा ३३५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार गत पुस महिना महिनाको तुलनामा माघ घटेर २६० वटा विद्युतीय सवारी आयात भएको थियो । यता, फागुन पनि १८९ वटा मात्रै आयात भएको छ । चालु आवको ९ महिना अर्थात चैतमा भने थप २५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
गत बैशाखमा ५०४ वटा र जेठमा ९१३ वट विद्युतीय सवारी नेपाल भित्रिएको थियो । जेठ महिनामा हालसम्मै उच्च आयात भएको विभागको तथ्याङ्कले पुष्टि गर्छ । मासिक तथ्याङ्क हेर्दा सबैभन्दा कम भने असार महिनामा देखिएको । गत आवको अन्तिम महिना अर्थात असारमा १८२ इभि आयात भएको छ । जुन अन्य महिनाको तुलनामा सबैभन्दा कम हो ।