नयाँ अनलाइनका प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता
काठमाडौं,साउन ९ । नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिबद्धता जनाएका छन् ।
प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले मङ्गलवार त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमिति अभिमुखीकरण सञ्चालन गरी अनुगमन समेत गर्दै आएको छ । त्यसक्रममा मङ्गलवार विषयगत विज्ञद्वारा देशका विभिन्न भागबाट सञ्चालनमा आउन लागेका सञ्चार माध्यमलाई आचारसंहिताका विभिन्न पक्ष र पछिल्ला समस्याहरुबारे प्रष्ट पारिएको थियो ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले डिजिटल पत्रकारितालाई विश्वसनीय र प्रभावकारी बनाउन मिडिया साक्षरताको खाँचो पर्ने भएकाले यस्ता कार्यक्रमलाई बढावा दिनुपर्ने धारणा राखे ।