गत आवमा ७८ करोडको सिमेन्ट निर्यात



काठमाडौं,साउन १० । गत आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरको १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका हुन् ।  

विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र रु ४२ करोड तीन लाख ५५ हजार बरारबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । 

हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् । साथै अन्य उद्योग निर्यातको तयारीमा छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारततर्फ निर्यात शुरु भएको थियो । साथै असोज ३१ गतेदेखि अर्घाखाँची र जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी सिमेन्ट निर्यात शुरु गरेका थिए । 

सरकारले सिमेन्ट र स्टीललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छूट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात शुरु गरेका हुन् । 

सरकारले गत आवको बजेटमा छूटको घोषणा गरेसँगै नेपाली तीन सिमेन्ट तथा एक स्टील उद्योगले निर्यात गरेका हुन् । सिमेन्ट उत्पादक सङ्घले भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्नेछ । नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करिब दुई करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ । रासस

प्रतिक्रिया दिनुहोस्