बाँकेमा बढ्दै लागूऔषधका घटना



बाँके,साउन १३ । बाँकेमा लागूऔषधका घटना बढ्दै गएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम ५ किलो तीनसय ६८ ग्रामसहित तिला गाउँपालिका–३ जुम्लाका ४१ वर्षीय हरिप्रसाद भट्टराई, सोही ठाउँका ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराईलाई नियन्त्रणमा लियो ।

गत असार २७ गते बाँके प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह गाउँबाट भारतबाट नेपालतर्फ भारतीय मोटरसाइकलमा आउँदैगरेको अवस्थामा भारतीय नागरिक भारत रुपैडिहाका १९ वर्षीय जुनेद राई र सोही ठेगानाका १९ वर्षीय सलमान अलिलाई ४३ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

गत असार २६ गते कोहलपुर प्रहरीले नै कोहलपुर नगरपालिका–१ कौशिलानगरका २६ वर्षीय जीवन लामिछानेलाई बैजनाथ गाउँपालिका–४ नौलापुरस्थित लामिछानेको ससुराली घरको कोठाबाट २३ वटा प्लास्टिकको पुडियामा लुकाई राखेको एक ग्राम नौ सय ५० मिलिग्राम आगूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लियो ।

बाँकेमा पछिल्लो समय लागूऔषधको प्रयोग र कारोबार बढ्दैगएको यिनै घटनाबाट पनि अनुमान लगाउन सकिन्छ । भारतसँगको खुल्ला सिमानाका कारण र सीमामा चेकजाँचमा कडाइ नहुँदा नेपालका लागूऔषध प्रयोगकर्ता भारत र भारतका लागूऔषध प्रयोगकर्ता नेपालमा सजिलैसँग पुगी लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्