घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा २ जनाको मृत्यु, १ घाइते

सुर्खेत,साउन १४ । सुख्खा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आईतबार दिउँसो पौने तीन बजे घारीखोलाभन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा दुई स्थानीयको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्थानीय ४४ वर्षीय कालीबहादुर खड्का र सोही स्थानकी ४५ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए । पहिरोमा परेर सोही स्थानकी ४२ वर्षीया बलकुमारी खत्री घाइते छन् ।