रासायनिक मल अभाव छैन : कृषिमन्त्री भुसाल



काठमाडौ,साउन १५ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आइतबारको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए ।

“हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ । गत वर्षजस्तो यस वर्ष अभाव छैन”, मन्त्री भुसालले भने, “सङ्घीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन् ।” उनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मल खरिद गर्न सरकारले कुल ३८ अर्ब रुपियाँ बजेट विनियोजन गरेकामा ३३ अर्ब रुपियाँ बराबरको मल आपूर्ति गरेको थियो ।   

चालु आवका लागि ३० अर्ब रुपियाँ बजेट विनियोजन भएको कृषिमन्त्री भुसालले जानकारी दिए । गत आवमा खरिद भएको २५ हजार मेट्रिकटनबाहेक सबै नेपाल भित्रिसकेको उनले बताए । चालु वर्षको आगामी पुससम्म चाहिने मलका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मन्त्री भुसालले सरकारले ल्याउने मल गुणस्तरीय रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्