२७ दिनभित्र दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बने उद्धव थापा

काठमाडौं,साउन १७ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरिएका छन् ।
गत बिहीबार (साउन ११ गते) सर्वाेच्च अदालतले नियुक्ति बदर गरेपछि सत्ता गठबन्धनका तर्फबाट उनी मंगलवार (आज) दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् । यससँगै उनी २७ दिनभित्र दोस्रो पटक सोही पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरे ।
यसअघि मुख्यमन्त्री दाबी गर्दा प्रदेश सभा सभामुखको समेत हस्ताक्षर संलग्न गराएको भन्दै सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी उनको नियुक्ति बदर गरेको थियो।
यसअघि उनी गत असार २१ गते पहिलो पटक सत्ता गठबन्धनका तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन अवस्थामा सत्ता गठबन्धनको बहुमत नपुगेपछि सभामुखको हस्ताक्षर गराएर बहुमत पेस गरिएको थियो । त्यो अवस्थामा सत्ता गठबन्धनसँग ४६ (सभामुखबाहेक) र विपक्षी गठबन्धनसँग ४६ सांसद थिए । यो अवस्थामा दुवै गठबन्धनलाई बहुमतका लागि थप १ मत आवश्यक थियो ।
अहिले भने सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सत्ता गठबन्धनसँग ४७ सांसद छन् । गौतमको राजीनामापछि थापालाई पुन: मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
सर्वोच्चले थापाको नियुक्ति खारेज गरेपछि गत शुक्रवार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई साउन १७ भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
त्यसपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।