रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा



चितवन,साउन १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले बुधबार एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् ।

घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ ।

बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस  चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउनेछ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुनेछ । लामिछानेले निर्वाचनको समयमा घोषणा गर्नुभएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा गरेका छन् । उनीहरुलाई मासिक रु. ४० हजारदेखि रु. एक लाख ५० हजारसम्मको तलबको व्यवस्था हुनेछ ।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । पैँसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिनेछ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको छ ।

उनले स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई रु. पाँच लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताए । पहिलो चरणमा एक सय जनालाई समावेश गरिनेछ ।

लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ट शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइनेछ । यससँगै अन्य कक्षा र अरु विद्यालय नमुना बनाउँदै लगिनेछ । उनले इच्छाकामनाको भाराङकाे आधारभूत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गरी आवासीय विद्यालय बनाउन सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्