पहिरोले ९० रोपनी धानखेतीमा क्षति

हुम्ला,साउन १७ । सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाइएको धान तथा कोदोखेतीमा पहिरोले क्षति पुगेको छ । गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइ सकेर गोडमेल गर्ने तयारी भएको धान र गोडमेल गरेको कोदोखेतीमा क्षति पुगेको हो ।
सर्केगार्ड गाउँपालिका –२ का कालीबहादुर महताराले ३० रोपनीमा रोपाइ सकेर गोडमेल गर्ने समय भएको धान खेतमा क्षति पुगेको बताए । उनले माथिबाट आएको पहिरोले धान रोपेको खेत नै बगाएका कारण क्षति भएको बताए । यसबाट रिप गाउँका सीता परियारको पाँच वटा खेत पहिरोले बगाएको छ ।
यता, सोही गाउँपालिका –३ का उनापानी गाउँका दानबहादुर फडेराले जिउलामा पहिरोले २० रोपनी धान र कोदोखेती गरिएको जग्गामा क्षति पुगेको बताए । जिउलाको उनापानी खोला छेउको खेतको धान बगाएर लगेको छ । धान लगाएर खेत नै बगाएर लगेपछि किसान चिन्तित बनेको उनले बताए ।
सर्केगार्ड गाउँपालिका –८ को राहदेब गाउँको ४० रोपनी जग्गामा लगाएको चिनो, कोदो, सिमी, भटमासलगायतका बालीमा क्षति पुगेको सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताए । जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले एउटै गाउँपालिकाको तीन वटा गाउँमा गरी ९० रोपनी जग्गामा लगाएको धान बालीमा क्षति पुगेको बताए ।