व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरण : मुख्य आरोपित रुंगटा पुर्पक्षका लागि थुनामा 



चितवन,साउन २०। व्यवसायी शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा मुख्य आरोपित भनिएका प्रदीपकुमार रुंगटालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रुंगटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, चितवनका स्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए । घटनाको तीन महिनापछि बिहीवार रुंगटा निवेदनका साथ मुद्दामा हाजिर हुन अदालत पुगेका थिए । 

वैशाख १९ गते आफ्नै अनमोल फिड्सको कार्यकक्षमा शंकर कँडेलले झुन्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा रुंगटा नै कारण रहेको उल्लेख गरेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । घटनापछि रूङ्टा फरार थिए ।

रुंगटासँगै अर्का आरोपित जीवन रावललाई पनि कँडेलको परिवारले किटानी जाहेरी दिएको थियो । रावल जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएकोमा गत असार २८ गते उच्च अदालत हेटौंडाको आदेशले पाँच लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । उनी तारेखमा छन् । घटनाको केही दिनमा रावल सिमराबाट पक्राउ परेका थिए ।

रुंगटाले इन्कारी बयान दिएका छन् । उनले बयानमा कम्पनीको हिसाबकिताबमा बदमासी नगरेको दाबी गरेका छन् । कानुनबमोजिम नै सबै कारोबार र शेयर बाँडफाँट तथा किनबेच भएको उनले बयानमा बताएका छन् । रुंगटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, उज्ज्वल रायमाझी र नन्दप्रसाद अधिकारीले बहस गरेका थिए ।

आरोपित दुवै जनाविरूद्ध पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ । कँडेलले लेखेको सुसाइड नोटमा आफूले मृत्यु रोज्नुको मुख्य कारक व्यक्ति रुंगटा नै रहेको उल्लेख गरेपछि कँडेलको भाइ राजनले दुई जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । आत्महत्या दुरूत्साहनअन्तर्गत जाहेरी लिई प्रहरीले मुद्दा अनुसन्धान थालेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ बमोजिम अभियोग लगाइएको छ । यस दफाको उपदफा २ मा आत्महत्या दुरूत्साहन कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

अहिले रुंगटाको आर्थिक कारोबार रोकिएको छ । रुंगटालाई अनमोल फिड्स बेचेर १५ प्रतिशत शेयर कँडेलले राखेका थिए । कँडेलको वैशाख २४ गते अन्त्येष्टि गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्