सुन तस्करी प्रकरणमा गृह प्रशासन पूरै असफल भएको प्रदीप ज्ञवालीको आरोप



काठमाडौं,साउन २० । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नै पार्टीको बटमलाइन भएको बताएका छन् ।

‘९०० क्लिन्टलभन्दा बढी सुन तस्करी उच्चस्तरीय राजनीतिक नेतृत्वको संलग्नताबिना सम्भव छैन भनेर सरकारमै रहेका दलका सांसदहरु बोलिरहेका छन् । प्रधानमन्त्रीले यसलाई किन अनदेखा गरिरहेका छन, हामीले बुझेका छैनौं । हाम्रो बटमलाइन उच्चस्तरीय छानबिन समिति नै हो । उच्चस्तरीय छानबिन नभए कहीं न कहीं गडबडी छ भन्ने देखिन्छ,’ एक रेडियो कार्यक्रममा ज्ञावलीले भने।

नेता ज्ञवालीले सुन तस्करी प्रकरणमा न्यायिक वा संसदीय छानबिनको विकल्प खुला रहेको पनि बताए । उनले थपे, ‘सरकार मातहतको प्रशासनिक नेतृत्वले गरेका अनुसन्धानले यथार्थ कुरा बाहिर ल्याउन सक्दैन । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनु जरुरी छ । उच्चस्तरीय छानबिन दुई किसिमले हुन्छ, न्यायिक र संसदीय । त्यसमा हामी खुला छौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुन तस्करीमा आफ्नो परिवार, पार्टी, डोनर, घरबेटी जो जोडिए पनि कारबाही गर्छु भनेर नलागेको ज्ञवालीले बताए । उनले भने, ‘सुन तस्करीमा सत्तारुढ पार्टीकै वरिष्ठ नेता बाउछोराको कनेक्सन देखियो । तर राजनीतिक दबाबमा अहिलेसम्म सोधपुछ भएन । उनीहरुलाई सत्ताको आडमा राजनीतिक उन्मुक्ति दिएको प्रस्ट देखिन्छ । प्रचण्डजी सुन तस्करीमा आफ्नो परिवार, पार्टी, डोनर, घरबेटी जो जोडिए पनि कारबाही गर्छु भनेर कस्सिनुभएको छैन । बरु प्रमुख प्रतिपक्षसँग अनावश्यक रुपमा दुरी बढाउने काम गरिरहनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्