गतिरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री



काठमाडौ,साउन २३ । दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । 

सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार दुई चरण शीर्ष नेतासहितको परामर्श भएको थियो । तर सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलको माग अनुसार उच्चस्तरीय समिति गठन गर्ने वा नगर्ने विषयमा सहमति नभएपछि अवरोध यथावत् छ । सत्तापक्ष र प्रतिपक्षबिच समझदारी नबन्दा प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म स्थगित गरिएको छ । मङ्गलबार बिहान सभामुखसहित शीर्ष नेताबिच पुनः छलफल हुने छ । 

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै साउन १० देखि एमालेले सङ्घीय संसद्का दुवै सदनको कामकारबाहीमा अवरोध पु-याइरहेको छ । करिब दुई सातासम्म पनि सत्तापक्ष र प्रतिपक्ष संवाद नभएपछि सभामुख घिमिरेले सोमबार छलफल आह्वान गरेका थिए ।

छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन सञ्चालनमा सबै दलबिच सैद्धान्तिक सहमति भए पनि केही छलफल आवश्यक भएको बताए । सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्रीले भने “सदन सञ्चालन गर्नुपर्नेमा सबैको सैद्धान्तिक सहमति नै छ । तर केही छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने छ । चाँडै गतिरोध अन्त्य हुन्छ ।” 

छलफलमा दलीय अडान यथावत् रहेका छन् । एमालेले सदनको गतिरोध अन्त्यका लागि समिति गठनलाई नै बटमलाइन बनाएको छ । तर सत्तापक्षले सुन प्रकरणमा प्रहरीले अनुसन्धान प्रक्रिया थालिसकेकाले उक्त मागबाट पछि हट्न प्रतिपक्षलाई आग्रह गरेको थियो । छलफलमा प्रधानमन्त्रीले समिति गठनको मागबाट पछि हट्न एमालेलाई आग्रह गरेका थिए ।

“सुन प्रकरणको अनुसन्धान भइरहेको र यसमा प्रहरीले ‘टेकओभर’ गरेको विषयमा पनि चर्चा भयो । प्रधानमन्त्रीज्यूले अहिलेको अवस्थामा उच्चस्तरीय समितिको मागबाट पछि हट्न पनि उनले आग्रह गरेका छन् ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने , “तर हामीले समिति गठनबाट पछि हट्न नसकिने जवाफ उनलाई दिएका छौँ । सदनको गतिरोध कसरी अघि बढ्छ भन्नेमा सत्तापक्ष नै जिम्मेवार छ ।”

प्रतिक्रिया दिनुहोस्