नागढुंगा सुरुङमार्ग: निर्माण सुरु गरेको साढे २ बर्षमा रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’



काठमाडौं,साउन २३ । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अन्तरगतको सहायक (रेस्क्यु) टनेलको ब्रेक थ्रु भएको छ । सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थीतिमा सहायक (रेक्स्यु) टनेलको ब्रेक थ्रु गरिएको हो ।

नागुढुंगा सुरुङमार्ग अन्तरगत दुई टनेल निर्माण हुँदैछ, त्यसमा एउटा मुख्य र अर्काे सहायक अर्थात् रेस्क्यु टेनल छन् । त्यसमा पहिलो पटकमा रेस्क्यु टनेलको ब्रेक थ्रु भएको हो ।

ठेक्का प्राप्त जापनीज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेशनले २०२० डिसेम्बरबाट टनेल खन्न सुरु गरेको थियो । त्यसको साढे २ बर्षमा रेस्क्यु टनेलको ब्रेक थु्र भएको हो, जसको कुल लम्बाई २ हजार ५५७ मिटर रहेको छ ।

मुख्य टनेलको ब्रेक थ्रु हुन भने अझै केही समय लाग्ने बताइएको छ । २ हजार ६८८ मिटर लामो रहेको मुख्य टनेलको अझै ५०६ मिटर अर्थात् १८ प्रतिशत खण्ड खन्न बाँकी छ । अबका २ देखि ३ महिनामा मुख्य टनेलको पनि ब्रेक थू्र हुने बताइएको छ ।

टनेल अन्तरगतकै वर्किङ अडिटको भने शतप्रतिशत अर्थात् एक सय २६ मिटर नै काम सम्पन्न भएको छ । क्रस–प्यासेजको भने ११६ मिटर निर्माण भएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर रहेको छ ।

यस्तै, नागढुंगा टनेल अन्तर्गत बन्ने ११ वटा संरचनाको निर्माण सम्पन्न भएको छ । यस आयोजनामा १२ वटा संरचना बन्नेछन्, त्यसमा हालसम्म ११ वटा संरचना तयार भएको हो । ३ अन्डरपास र ४ बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना) को निर्माण सकिएको छ । यसैगरि १ ओभरपास, ३ वटा पुलको पनि निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तरगत बन्ने १२ संरचना मध्ये फ्लाई ओभर भने निर्माणको चरणमा रहेको छ । हाल फ्लाईओभरलाई चाहिने ९५ प्रतिशत जग्गाको मुआव्जा वितरण भइसकेको छ । यसका अलावा फ्लाई ओभरअन्तर्गत बन्ने ३ फाउन्डेसन र २ सहायक संरचना तयार भइसकेको छ । हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ५६.८९ प्रतिशत र वित्तिय प्रगति ५९.३९ प्रतिशत पुगेको छ ।

यो नेपालको पहिलो आधुनिक सुरुङ मार्ग हो । सुरुङको उचाइ ८.३ मिटर छ भने लेन ९.५ मिटर चौडा छ । सुरुङको लम्बाइ २ हजार ६८० मिटर छ । टनेल भित्र २ लेनको बाटो हुनेछ । धादिङको सिस्नेखोलाबाट सुरु हुने यो टनेल काठमाडौंको नागढुंगामा टुंगीन्छ । यो टनेल बनेपछि पृथ्वी रार्जमार्गबाट काठमाडौं प्रवेश गर्ने सवारी साधानको यात्रा छोटिने छ ।

यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी ५ अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्ने छ ।

नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ । जाइकाले भौतिक प्रगतिको आधारमा सिँधै निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्दछ ।

यो आयोजनाको निर्माणका लागि २०७६ असोजमा निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेशनसँग ठेक्का सम्झौता भएको थियो । त्यसको १४ महिनापछि अर्थात् २०७७ पुसबाट यसको निर्माण सुरु भएको थियो ।

पहिलो सम्झौताअनुसार गत अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएर जुलाई ०२३ भित्र सम्पन्न गर्नुपर्ने थियो । त्यस अवधिमा पनि आयोजनाको निर्माण नसकिने देखिएपछि पुन: नौ महिना म्याद थप गरिएको छ ।

अब कम्पनीले अप्रिल ०२४ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, बाँकी अवधीमा आयोजनाको सम्पुर्ण काम नसकिने आयोजनाको पछिल्लो प्रगति विवरणले देखाएको छ । तर, अन्य आयोजनाको तुलनामा यसको निर्माण भने चुस्त नै भएको जानकारवालाहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्