नुवाकोटको त्रिशुलीमा महिलाको शव भेटियो
नुवाकोट,साउन २४ । नुवाकोटको त्रिशुलीमा महिलाको शव भेटिएको छ । जिल्लाको तारकेश्वर गाउँपालिका-४ स्थित दर्शनटारमा महिलाको शव भेटिएको हो ।
उक्त शव धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया सरस्वती रिमालको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बुधबार पौने पाँच बजेतिर स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोजतलासको क्रममा ती महिलाको पहिचान खुलेको र उनी बुधबार बिहान घरबाट एक्लै उपचारका लागि भनेर त्रिशूली अस्पताल गएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मृतकका परिवारलाई जानकारी गराई शव त्रिशूली अस्पतालमा पोस्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको छ। प्रहरीका अनुसार रिमालको मृत्युबारे अनुसन्धान भैरहेको छ ।

