राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका : प्रधानमन्त्री
काठमाडौं,साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताएका छन् । बुधबार २९ औँ आदिवासी दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
‘विश्वभरि करोडौँ आदिवासीहरू रहेका छन्, नेपालमा करिब एक करोड २० लाख आदिवासी/जनजातिहरू छन् । हालसम्म ६० आदिवासी/जनजाति समुदायहरू सूचीकृत भएको र तिनीहरूको आ-आफ्ना भाषा-संस्कृति रहेको, ती सबै राज्यसत्ताको भाषा, संस्कृतिभन्दा पृथक् छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको छ । यो यथार्थलाई हामी सबैले ठीक ढङ्गले आत्मसात् गर्न जरुरी छ ।’’
प्रधानमन्त्री प्रचण्डले विश्वभरिका सरकार, आदिवासी जनजाति सङ्घ संस्था र अध्येताहरूले आदिवासी जनजातिको हक अधिकार संरक्षण र संवर्द्धनका लागि उनीहरूले भोग्दै आएका समस्या र चुनौतीको सामना गर्न सबै समुदायलाई सचेत गर्न गराउन यो दिवस मनाइएको बताए ।

