सिरहामा मार्केटिङका लागि पुगेका विराटनगरका कापी उद्योगी मृत फेला, यसरी भयो घटना 



काठमाडौं,साउन २५ । मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका एक कापी उद्योगी मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी निरीक्षक शंकर चौधरीका अनुसार विराटनगर महानगरपालिका–१० का २५ वर्षीय सिद्धान्त भट्टराई मिर्चैया नगरपालिका–६, कटारी चोकस्थित शम्भू होटल आसपासमा बुधवार बिहान मृत फेला परेका हुन् । ‘आज बिहान १ः३० बजे मृत फेला पारेका हौं,’ प्रहरी निरीक्षक चौधरीले भने । 

उनको छातिमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिद्धान्तको शव परीक्षणका लागि सिराहाको लहान अस्पताल लगिएको छ । 

‘घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि घटनाको रहस्य खुल्नेछ,’ प्रहरी निरीक्षक चौधरीले भने । 

यसरी भयो घटना

प्रहरी निरीक्षक चौधरीका अनुसार विराटनगरमा कापी उद्योग चलाइरहेका सिद्धान्त मार्केटिङका लागि को १ च ९१७२ नम्बरको पिकअप भ्यानमा ड्राइभर सागर राईसहित हिजो (मंगलवार) सिरहा पुगेका थिए ।

त्यहाँ पुगेपछि कटारी चोकको सहदेव होटलमा स्थानीय एक कापी व्यापारीसहित उनीहरू ३ जनाले रक्सी खाएका थिए । उनीहरू त्यो होटलमा राति १० बजेसम्म बसेको होटल सञ्चालकलाई उध्दृत गर्दै प्रहरी निरीक्षक चौधरीले बताए । 

प्रहरीका अनुसार त्यसपछि स्थानीय व्यापारी आफ्नो घर गए भने सिद्धान्त र सागर कटारी चोककै शम्भू होटलमा बास बस्न गए । उनीहरूले त्यहाँ पनि रक्सी खाएको होटल सञ्चालकलाई उध्दृत गर्दै प्रहरी निरीक्षक चौधरीले बताए । रक्सी खाने क्रममा पिसाब फेर्न होटल बाहिर गएका सिद्धान्त बिहान १ः३० बजे मृत भेटिए । 

प्रतिक्रिया दिनुहोस्